जनकपुर, कात्तिक १३ (ई-रैवार)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्बन्धमा गठनबन्धनका नेताहरुको बैठक बसेर साझा धारणा तय गर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठनबन्धनका नेताहरुको बैठक बसेर प्रधानन्यायाधीश जबराको राजीनामा सम्बन्धमा साझा धारणा तय गर्ने बताएका हुन ।
“गठबन्धनका नेताहरु अहिले को कहाँ को कहाँ भएकाले केही ढिलो भएको हो । हामी केही दिनमै बैठक बसेर साझा धारणा बनाउने छौं,” उनले भने, “समाधान दिने गरी साझा धारणा बनाउने हाम्रो तयारी छ ।”
सर्वोच्च अदालतका न्यायाधीशहरुसँगै नेपाल बार एसोसियसन तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रधानन्यायाधीशले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् ।
यता, प्रधानन्यायाधीशले भने आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताउँदै आएका छन् । प्रधानन्यायाधीशका बारेमा राजनीतिक दलहरुको स्पष्ट आधिकारिक धारणा नआएको भन्दै आलोचना हुँदै आएको छ ।
प्रतिपक्षी दलले संविधानको मर्म र भावना विपरित अनावश्यक रुपमा संसद अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्त्वपूर्ण विषयमा विद्येयकहरु ल्याउने उनले जानकारी दिए ।


