काँचो धागोले बाँधेको गठबन्धन होइन, न्यायपालिकाको समस्यालाई छलफल गरेर समाधान गर्छौं : अध्यक्ष नेपाल

Spread the love

विराटनगर, कात्तिक १३ (ई-रैवार)

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए ।

अध्यक्ष नेपालले न्यायपालिका स्वतन्त्र निकाय भएकाले त्यहाँ देखिएको समस्याको बारेमा छलफल गरेर समाधान गर्ने बताएका छन् । ‘न्यायपालिका स्वतन्त्र निकाय भएकोले त्यसलाई सम्मान गर्न चाहन्छौं,’ विराटनगरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउने बारे कुनै छलफल भएको छैन त्यसैले यो सम्बन्धी सबै न्यूजहरु हावादारी हो ।’

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निर्णय गर्ने पाँचै जना न्यायाधीशलाई राजीनामा दिनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ९ गते दिएको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्र निर्णय दिने अधिकारमाथि प्रहार भएको अध्यक्ष नेपालको भनाइ थियो । ‘न्यायाधीश, कानुन व्यवसायी, नागरिक समाजले अग्रमणको पक्षमा, प्रतिगमनको विपक्षमा, संविधान बचाउने पक्षमा र संविधान मास्ने प्रवृतिका विरुद्धमा निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दछु,’ उनले भने, ‘केपी ओली जीले यसबीचमा जुन जथाभावी बोल्दै हिँडिरहनु भएको छ उहाँको प्रवृत्ति नै त्यही हो । उहाँको तानाशाही प्रवृत्तिको विरुद्धमा कसैले केही बोल्यो भने उहाँलाई खपिसक्नु हुँदैन ।’

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दुई वटै समयमा न्यायालयले गरेको ऐतिहासिक निर्णयविरुद्धमा रीस पोख्न र समस्या खडा गर्नका लागि पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको अभिव्यक्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले प्रदेश १ सरकारको नेतृत्वको बारेमा कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा कार्यकाल बाँड्ने बारे कुनै छलफल नभएको बताए । उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए ।

प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको बताए ।