काठमाडौं, कार्तिक १२ (ई-रैबार)
नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको हो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान ११ बजे शुरू हुने बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने जानकारी दिएका छन् । उनका अनुसार बारले अब देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।
नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाएको थियो । तर, राणाले सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने बताउँदै आएका छन् ।
न्यायपालिकाको नेतृत्व गर्न नसकेको अनि पदीय मर्यादा कायम राख्न नसकेको आरोपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा तानिएका हुन् । सर्वोच्च अदालतकै न्यायाधीशहरुदेखि बार र पूर्वप्रधानन्यायाधीशहरुले समेत राजीनामा मागे छन् ।


