टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

Spread the love

काठमाडौँ, साउन १३ (ई–रैवार)

टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै छन्। गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्।

गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ। यो स्पर्धामा सात वटा हिट हुनेछन्। सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ।

गौरिकासंगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् ।

गौरिकाको लक्ष्य पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान सुधार गर्नु नै रहेको छ । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

एलेक्सले कीर्तिमान सुधार गरिसकेको र गौरिकाले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कीले बताए ।

गौरिकाको ओलम्पिक इन्ट्री टाइमिङ १ मिनेट ००.६२ रहेको छ । गौरिकाले सन् २०१९ मा चीनमा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा यो समय निकालेकी थिइन् ।

यस्तै नेपालमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा ५९.६० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३औं सागमा गौरिकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन । यसअघि सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन् ।