न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित- नेपाल

न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित- नेपाल
Spread the love

धनगढी, कार्तिक ११ (ई-रैबार)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

एमाले अध्यक्ष ओलीले कात्तिक ९ मा पार्टीको पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश दिने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका थिए। त्यसतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘एमाले अध्यक्ष ओलीले न्यायालयमा हस्तक्षेप गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो।’

समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘उहाँले (केपी शर्मा ओलीले) आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’

न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए । ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आउनु भयो । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो ।’

पछिल्लो समय विवादमा परेका प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनेबारे छलफल नै नभएको पनि उनले बताए । ‘महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन । म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन,’ उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने बताएका छन्। उनले बागमतीमा आज पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने पनि बताएका छन्।

राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उनले बताए।

तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले बताए। पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताएका छन्।