परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

Spread the love

काठमाडौँ, कात्तिक ९ (ई-रैवार)

नेकपा एमाले अध्यक्ष केपी शर्माले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले उनलाई बल पुग्ने गरी अभिव्यक्ति दिएका हुन् ।

एमालेको मंगलबार पार्टीको ७५३ पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले भने ‘पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि आज सर्वोच्च अदालतमा समस्या देखिएको छ। श्रीमान् न्यायाधीशहरुले कस कसले के गर्नु भएको थियो । अलि खुलेको छ,’ अध्यक्ष ओलीले भने, ‘एक जना मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको होइन । एक जना मात्रै किन राजीनामा गर्नु भएको छ ? पाँचै जनाले राजीनामा गर्ने होइन? सर्वसम्मत निर्णयको सुगन्ध र दुर्गन्ध के थियो ?’

ओलीले बार र वकिलले संसद् विघटनको समयमा बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाए । ‘यो न्यायाधीश राख्नु हुन्छ यो न्यायाधीश राख्नु पर्छ भन्ने, बस्छु भन्नेलाई हटाएको होइन ? बार र वकिलले बेन्च गठन गर्ने काम भयो,’ उनले भने,’ हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको छ ।’

२८ असारको फैसलाको आलोचना गर्दै ओलीले राष्ट्रपतिको अधिकारमाथि धावा बोलेर यति घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर भनेर आदेश दिइएको बताए । यद्यपि आफ्नो चिन्ता आफ्नो कुन पक्ष हार्‍यो, कुन पक्ष जित्यो भन्ने नभई न्याय प्रणाली पारदर्शी हुनुपर्छ भन्ने भएको एमाले अध्यक्ष ओलीले बताए ।

गत असार २८ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

उक्त आदेशमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । सर्वोच्च अदालतले गरेको संसद विघटन मुद्दाको फैसलालाई आफूहरुले उहिल्यै दूषित भनेको भन्दै अध्यक्ष ओलीले अहिले न्यायाधीशहरुले नै विवादित भन्न थालेको टिप्पणी गरे ।