राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदै, निर्वाचनको मिति चाँडै तोक्ने- प्रधानमन्त्री देउवा

Spread the love

काठमाडौँ, कात्तिक ९ (ई-रैवार) 

राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले आगामी फागुन २१ गते रिक्त हुने २० जना राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका हुन् ।

राष्ट्रियसभामा चार वर्षे कार्यकाल पूरा गर्ने २० सांसदको पदावधि सकिन लागेको छ। रिक्त हुने पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाएको थियो।

राष्ट्रियसभामा ५९ सदस्य रहेका छन्। राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ। संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्ष पदावधि तय गरिएको थियो।

२०७४ फागुन २१ मा राष्ट्रियसभाको पहिलो बैठक बसेको थियो। राष्ट्रियसभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रियसभाको प्रथम बैठक बसेको दिनबाट सुरु भएको मान्ने संवैधानिक व्यवस्था छ। गोलाप्रथाबाट चार वर्ष पदावधि तय भएका सांसदको पदावधि समाप्त भएपछि नयाँ सदस्य ल्याउने कार्य फागुन २१ गतेभित्र गर्नुपर्ने भएकाले आयोगले निर्वाचन तयारी थालेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको छलफलमा निर्वाचन आयोगले चुनाव तयारी थाल्न आग्रह गरेको हो। संविधानको धारा ८६ (३) र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ अनुसार नयाँ २० सदस्यका लागि निर्वाचन गर्न लागिएको छ।

आयोगका अनुसार चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट दीर्घनारायण पाण्डेय निर्वाचित भएकोमा उनको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम हुनेछ। नेकपा एमालेका ७, कांग्रेसका ३, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रपतिबाट मनोनीत एक गरी २० सांसदको पद खाली हुँदैछ।

निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिएका छन् ।