आज देशभर नेकपा एमालेको पालिका अधिवेशन हुँदै, ओलीले भर्चुअल उद्घाटन गर्ने

Spread the love

काठमाडौँ, कात्तिक ९ (ई-रैवार)

नेकपा एमालेको स्थानीय तहस्तरीय पालिका अधिवेशन आज हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको हो ।

अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेश सारिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको हो ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न भएको थियो ।

बाढीपहिरो प्रभावित भएका ठाउँ र सहमति हुन नसकेका केही ठाउँमा भने वडाको नेतृत्व चयन हुन सकेको छैन् ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।

एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।