काठमाडौं, असोज २८ (ई-रैवार)
यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाउन सफल भयो । दिल्लीका लागि शिखर धावन र श्रेयस अय्यरले अर्धशतकीय पारी खेले । ३३ बल खेलेका धावनले ६ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाउन सफल भए ।
त्यस्तै ४३ बल खेलेका अैरले ३ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । दिल्लीका लागि मार्कुस स्टोइनिसले १८ रन बनाउनदा आल्यक्स केरीले १४ रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि जोर्फा आर्चरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जयदेव उतकन्डले दुई विकेट लिँदा कार्तिक त्यागी र श्रेयस गोपालले समान एक-एक विकेट लिए ।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । दिल्ली आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेल्दै दिल्ली १० अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको मुम्बईको पनि समान अंक छ । मुम्बई नेट रनरेटका आधारमा अघि छ ।
यता राजस्थान पनि आजको खेलमा दिल्लीलाई पराजित गर्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ७ खेल खेलेको राजस्थान ६ अंकसहित तालिकाको सातौं स्थानमा छ । लिगमा आफूलाई बलियो बनाई राख्न राजस्थानलाई आजको खेलमा जितको आवश्यकता छ ।


