काठमाडौँ, असार ७ (ई-रैवार)
नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई केन्द्रीय कमिटीको बैठकमार्फत साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ। माओवादी केन्द्रको सोमबार बिहान केन्द्रीय समितिको आकस्मिक बैठकले दल छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।
सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी अनुशासन उल्लंघन गर्नेहरूलाई निष्काशन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश लामाले बताए। उनले निष्कासन गरिएकाहरूको अभिलेखिकरण सच्याउन निर्वाचन आयोगमा पत्र पठाउने निर्णयसमेत भएको बताए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ ।
भर्चुअल विधिमा भएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाहरुलाई कारवाही गरेको छ । स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो ।
माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए । सोमबारको बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा पनि कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको छ ।
यसअघि सो पार्टीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन ।
यसअघि शुक्रबार नेताहरु लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।
यी हुन् माओवादी केन्द्रबाट निस्कासित भएका जनप्रतिनिधिहरु
| क्र.सं. | पद | नाम | स्थानीय तह |
|---|---|---|---|
| १. | प्रमुख | रिना कुमारी साह | मौलापुर न.पा. रौतहट |
| २. | प्रमुख | सियाराम कुशवाहा | कटहरिया न.पा. रौतहट |
| ३. | उप्रमुख | परनिया देवी | देवाही गोनाही न.पा. रौतहट |
| ४. | उप्रमुख | गौरिशंकर जयसवाल | मौलापुर न.पा. रौतहट |
| ५. | उप्रमुख | कान्ती देवी | फतुवाविजयपुर न.पा. रौतहट |
| ६. | उपप्रमुख | सिमल साह | मानवनारायण न.पा. रौतहट |
| ७. | उपाध्यक्ष | गितादेवी साह | यमुनामाई गा.पा. रौतहट |
| ८. | नगर का.पा. सदस्य | सतमीलाल दास ताती | लहान न.पा. सिरहा |
| ९. | अध्यक्ष | शेष फारुक | सम्सी गा.पा. महोत्तरी |
| १०. | उपप्रमुख | छायाँ देवकोटा | भजनी न.पा. कैलाली |
| ११. | वडाध्यक्ष | भागिरथी विष्ट | गौरीगंगा न.पा.–४, कैलाली |
| १२. | वडाध्यक्ष | शर्मानन्द भट्ट | गोदावरी न.पा.–१, कैलाली |
| १३. | वडाध्यक्ष | पुरन विसी | बर्दगोरिया न.पा.–४, कैलाली |
| १४. | वडाध्यक्ष | सुरेश कुमार थापा | चम्पादेवी गा.पा.–१, ओखलढुंगा |


