डोटी कार्तिक ३(ई-रैवार)
डोटीमा बाढी पहिरोको कारण मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । पहिरोमा परी मंगलबार राती थप दुई जनाको मृत्यु भएपछि यो संख्या ११ पुगेको हो ।
सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
स्थानीयबासी रेखा शर्माका अनुसार हिरुवाका छोरा रमेश विक र भतिजा भीम विक घाइते भएका छन् । छोरा रमेश भने गम्भीर घाइते छन ।
त्यस्तै गएराती नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन् ।
यस्तै बर्षापछि घर भत्किदा मंगलबारसम्म डोटीमा नौजनाको मृत्यु भएको थियो ।
जसमा घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर बिकको घर भत्किँदा उनीसहित उनकै १८ वर्षका छोरा मोहन बिक, १२ वर्षीया छोरी पबित्रा बिकको मृत्यु भएको छ । सोही घरमा मामाघर आएका १६ वर्षीय रविन बिकको पनि मृत्यु भएको छ।
यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिरोले घर च्याप्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी घाईते अवस्थामा रहेकी ६१ ब्र्षियाा श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राती नै मृत्यु भएको छ ।
यस्तै पहिरोसंगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ ।
यस्तै सोमबार रातीको पहिरोले घर च्याप्दा जिल्लाको सायल गाउँपालिका ६ का बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो। सोही घटनामा तीन जना घाइते भएका छन्।


