सेती नदीको बाढीमा ढुंगाडका ६० जना फसे, उद्दारमा सहयोग गर्न आग्रह

Spread the love

धनगढी, कार्तिक २ (ई-रैवार)

सेती नदीको बाढीका कराण ६० जना फसेका छन्। बैतढीको सिगास गाउँपालिका-५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेका हुन्।

गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिएका छन् । बस्तीमा बाढी पसेपछि सोमबारदेखि नै केही अन्यत्र सरेको उनले बताए। केही नजिकैको टापुमा बसेका थिए।

‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ गाउँपालिकाका अध्यक्ष धामीले भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् ।

बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ । अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेको उनले बताए।

उद्दारमा सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिएको उनले बताए। सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै अध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए ।

उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको अध्यक्ष धामीले जानकारी दिए ।