गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका तीन दिदीबहिनीको मृत्यु

Spread the love

गुल्मी, असोज ६ (ई-रैवार)

पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो।

पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले रेसुङ्गा नगरपालिका वडानम्बर(८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जानकारी दिएका हुन ।

घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो। गए राति करिब १ बजेतिर पहिरो खसेको थियो। पहिरोमा पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ।

घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ। पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताए। उनीहरू अर्कै कोठामा सुतेका थिए। उनीहरूलाई छिमेकीको घरमा राखिएको पनि प्रहरीले जनाएको छ।