सभापति देउवाले बोलाए पदाधिकारी बैठक, मन्त्रीको नाम टुंग्याउने तयारी

Spread the love

काठमाडौँ, असोज ६ (ई-रैवार) 

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको हो।

आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुने देउवा निकट एक नेताले जानकारी दिए ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो ।

डा. नारायण खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा. खड्का न्यूयोर्क जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।

परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि विगि्रने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।

तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह नगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन् ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।