काठमाडौँ, असोज ४ (ई-रैवार)
एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।
अवरोधबीच सभामुख सापकोटाले संसद बैठक अघि वढाएका हुन् । आजको बैठकमा विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश भएको छ। विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।
विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे । सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे ।
प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।
एमाले सांसदहरुले संसदीय मान्यता कायम गर, यथास्थितीमा संसद चल्न सक्दैनलगायतका नारा लगाइरहेका छन् । सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक सोमवार पारित गर्ने सरकारको तयारी छ। बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि एकमुष्ट छलफल गर्ने कार्यसूची छ।


