काठमाडौं, आश्विन १ (ई-रैवार)
प्रहरी हिरासतमा भएको मृत्यु अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले हिरासतमा भएको मृत्युका घटनाको अध्ययन गर्न उपसमिति गठन गरेको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बिहीबार बसेको बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिएका छन ।
सभापति पोखरेलले भने, ‘प्रहरी हिरासतमा कसरी गैरन्यायिक हत्या भयो भन्ने सम्बन्धमा यथार्थ छानबिन गर्न ५ सदस्यीय समिति बनाउने र कार्यक्षेत्र अनुसार रौतहट लगायत जिल्लामा समिति पठाउने निर्णय भएको छ ।’ समितिमा अध्ययन रिपोर्ट छिटोभन्दा छिटो बुझाउने गरी उपसमितिलाई कार्यादेश तोकिएको उनले बताए ।
केही महिनायता कैलाली, धनुषा र रौतहटमा हिरासतमा रहेका बेला ३ जनाको रहस्यमय मृत्यु भएको छ । मृत्युको घटनालाई लिएर मृतकका आफन्तजनहरुले विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।
यस्तै बैठकले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि संविधानले नै परिकल्पना गरेका महिला आयोग, समावेशी आयोग, दलित आयोग लगायतलाई यथाशीघ्र पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


