जब, भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो…

Spread the love

दिपायल भदौ १२(ई-रैवार)
झण्डै डेढ बर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षिया महेश्वरी साउँदको तल्लो पेट भारी हुनथाल्यो । केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महशुस भयो । पेट कटकटी दुख्नथाल्यो ।
दुर्गम गाउँ, अशिक्षित परिवेश ! पाठेघरसंग जोडिएको समस्या ! त्यही परिवेशबाट ग्रसित उनी सजिलै कहाँ अरुलाई भन्न सक्थिन र त्यो समस्या ! उनको सोचलाई ‘लाज’को बादलले जो ढाँकेको थियो ।
‘लाज लाग्यो ! शुरुमा कसैलाई भन्न सकिन् । केही दिनमा ठिक भैजाला भनेर पीडा दबाएर बसे,’ उनि भन्छिन् । उपचारबारे त सोच्दै–सोचिनन् ।
श्रीमान संगै थिए । रातदिन दुखाईले उनको मुटु हल्लाईरहेको थियो । उनले श्रीमानलाई सुईँकोसम्म दिन सकिनन् । यसमा ‘लाज’ मात्र थिएन् । घरको परिस्थिती पनि उत्तिकै जिम्मेवार थियो ।
१८ वर्षको उमेरमा पहिलोपल्ट आमा बनेकी थिईन उनी । त्यसयता लगालग छ जना सन्तान जन्मिए । विपन्न परिवारमा ती सन्तानको लालन–पालन नै चुनौती थियो । परिवारको अवस्थाले ति सन्तान पनि केही कलिलो उमेरमै भारत पसिसकेका थिए ।
उनले जसोतसो पाँच÷छ महिना त्यसैगरी पीडाको पहाड आफ्नै मनमा थामिरहिन् । तर, पेटभित्रको पीडा घट्ने भन्दा दिनदिनै बढ्न थाल्यो । दिनहुँ शूल रोपिएजस्तो हुनथाल्यो । ‘पीडा लुकाउदै एक्लै–एक्लै छट्पटाउदै घरधन्दा गरिरहे,’ उनि भन्छिन्,‘पछि त न पीडा सहन सकिने अवस्था भयो । न काम गर्न सक्ने भएँ ।’
पीडा मात्रै थिएन् । पेटको आकार पनि बढ्न थालेपछि श्रीमानको पनि ध्यान तानिन थालेको थियो । त्यसपछि भने उनी श्रीमानलाई भन्न बाध्य भईन् । ‘सोझी मान्छे हुन् । उनले आफ्नो पीडा धेरैदिन लुकाएकी रहीछन् उनका श्रीमान नरबहादुर साउँदले भने,‘पेट बढेको देखेपछि मैले सोध्दामात्रै मलाई भनिन् ।’
त्यसपछि केही समय गाउँकै मेडिकलहरुको औषधि ल्याएर खाने गरिन् । त्यो औषधिले काम गरेन् । समस्या बढ्दै गएपछि दिपायलको एक अस्पतालमा उपचार गर्दा समेत कुनै विशेक भएन् । ‘मेडिकलको औषधिले कामै गरेन् । दिपायल पुगेर अस्पतालमा उपचारमा भएको पैसा सकियो । अझै निको भएन्,’ उनका श्रीमान नरबहादुरले भने ।
पछि त उनलाई नियमित उठबसमै समस्या हुनथाल्यो । पेट गर्भवतीकोझैँ बढेको देखिनथाल्यो । घरको काम त उनको हातबाट हुनैछाड्यो ।
श्रीमान नरबहादुर चिन्ताले ग्रसित हुदैगए । ‘ज्यालामजदुरी गरेर खाने मान्छे । दुबैका हातले जसोतसो परिवार चलाएका थियौ,’ उनि भन्छन्,‘उनको उपचार त कहाँ हो कहाँ एक्लैले परिवार धान्नै नसक्ने अवस्थाले छट्पटिन थाले ।’
र‘उपचार त गर्नु नै थियो । धेरैले सुनाए ‘भारतको सितारगञ्ज लगे यस्तो समस्याको उपचार हुन्छ ।’ पैसा ८०÷९० हजार भारु लाग्ने कुरा सुनियो । ‘यत्रो पैसा कहाँबाट ल्याउने ?’ नरबहादुरमा अर्को चिन्ता थपियो ।
त्यो आँट गर्न सकेनन् उनले । बरु दिपायलस्थित सुङ्गज अस्पतालमा स्त्री रोग विशेषज्ञ रहेको कुरा सुनेपछि चारमहिना अघि उनी श्रीमतीलाई लिएर त्यतै आए । चेँकजाँच भयो । अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. प्रंकज प्रतापले पाठेघरमा पानी जमेको र त्यसको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । ‘डा.साबले अप्रेशन गर्नुपर्छ यही गर्नसकिन्छ भन्नुभयो,’ उनले भने,‘सबै खर्च ६०/७० हजार लाग्ने र दिपायलमै उपचार हुने भन्ने सुनेपछि आशा पलायो ।’
तत्काल उनीसंग त्यति पैसा थिएन् । त्यसपछि उनले केहीदिनमा फेरी आउने भन्दै महेश्वरीलाई घर लगेर गए । केही दिनमै ऋण र सरसापट गरेर त्यति पैसा जम्मा गर्न सकिने उनको आशा थियो ।
चार महिना लाग्यो । उनले पैसा जम्मा पारे । त्यसपछि श्रीमती ल्याएर सुजङ्ग अस्पताल पुगे । सफल शल्यक्रिया भयो । उनको पाठेघरबाट आधा किलोको पानीको फोका निकालियो । शल्यक्रिया भएको दोस्रो दिन उनी हिड्न सक्ने भईन् । सातदिनको अस्पताल बसाईपछि उनी डिस्चार्ज भएर घर गईन् । यसबिचमा ७० हजार जती खर्च लागेको नरबहादुर बताउछन् ।

महेश्वरीको पाठेघरबाट काटिएको आधा किलोको पानीको फोका ।

उपचार पछि महेश्वरी दोस्रो जन्म पाएको अनुभूति भएको बताउछिन् । ‘बाँचौला सोचेकै थिएन् । यही समस्याले मर्नेभए भन्ने लागेको थियो,’ उनि भन्छिन्,‘भारत जान पैसा थिएन् । अनि आशै मरिसकेको थियो ।’
श्रीमान नरबहादुरको चिन्ता दूर भएको छ । ‘एकवर्ष चिन्तैचिन्ताले थलिईसकेको थिए । श्रीमती कसरी बचाउने साह्रै तनाव थियो,’ उनी भन्छन्,‘धन्न बचाए । ऋण त तिर्दै गरुँला ।’
डा. पंकजका अनुसार उनमा भएको समस्यालाई ‘ओभरिन सिस्ट’ भनिन्छ । यसका पनि विभिन्न प्रकारहरु हुन्छन् । अहिले आफुकहाँ आउने बिरामीहरुमा अधिकांशमा यस्तै प्रकृतिको समस्या भेटिने गरको उनी बताउछन् । महिनावारीमा गडबडी हुँदा यस्ता प्रकृतिका समस्या सिर्जना हुने बताउछन् । ‘महिनावारीचक्रमा उत्पादन हुने अण्ड अब्नर्मल भए पाठेघरमा जमिएर बस्दा सिस्ट बन्छ,’ उनी भन्छन्,‘जुन समस्या अहिले व्यापक छ ।’ यस्तो समस्या भएका महिलाहरुको दिपायलमै उपचार गर्न सकिने उनी बताउछन् ।

सुजंग अस्पतालमा शल्यक्रियामा सक्रिय डा. पंकज प्रताप सहितको स्वास्थ्यकर्मीहरुको टीम ।

डा. पंकज सुजङ्ग अस्पताल आएको झण्डै एकवर्ष पुगेको छ । यसक्रममा ३० जनामा ओभरिन सिस्टको शल्यक्रिया गरिएको छ । ५० जनाभन्दा बढीको पाठेघरको समस्याबारेको शल्यक्रिया समेत गरिएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायर बताउछन् । उनी भन्छन्, ‘पाठेघरका पानीको फोका जमेका, मासु पलाएका यस्ता समस्याहरुको सफल शल्यक्रिया भईरहेको छ । यस्ता समस्याहरुको उपचारका लागि यहाँमा बिरामी अक्सर भारत गईरहेको हुन्छन् ।’ यस्तै ९५ जनालाई शल्यक्रियामार्फत प्रसूती सेवा दिईएको छ । जुन जिल्ला अस्पताल डोटीभन्दा बढी संख्या हो ।