काठमाडौँ, साउन २४ (ई-रैवार)
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफल जारी रहेको हो ।
छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्।
पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन गठित काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ । सो प्रतिवेदनलाई सरकारले आजै अपराह्न ४ बजे सार्वजनिक गर्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति–सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तत्कालिक राहत पुनर्निमाण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ ।
सरकारको प्रमुख प्राथमिकतामा रहेको कोरोना रोकथाम र नियन्त्रणका विषयलाई प्रतिवेदनमा मुख्य रूपमा समेटिएको छ । गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ ।
वर्तमान सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । त्यसलाई आज अन्तिम रुप दिइएको हो ।
कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।


