मेलम्ची बाढी अपडेट: ६० घर-टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

Spread the love

काठमाडौँ, साउन १८ (ई-रैवार) 

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा ५ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो। ती घर खाली थिए।

चनौटे ग्याल्थुम र ढुङ्गेर बजार जोखिममा छन्। हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले बताए।

जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा उनले आग्रह गरेका छन्। बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो।

बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ।

यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ। त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ। एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ।

ncell inबाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरमा पनि क्षति पुर्‍याएको अनुमान छ। हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नम्बर १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था कस्तो छ यकिन भइसकेको छैन। रासस