काठमाडौं, वैशाख २२ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । प्रधानमन्त्री ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ। ‘प्रधानमन्त्रीज्यू केहीबेरअगाडि सभापति निवास आउनुभएको हो। अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ,’ उनले भने।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका हुन् ।
२७ गते विश्वासको मत लिने प्रयोजनका लागि भन्दै संसद् बैठक बोलाएपछि ओली कांग्रेस सभापति देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगेका हुन् । त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ। यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो।


