सातै प्रदेशमा अक्सिजन मौज्दात राख्‍न स्वास्थ्य मन्त्रालयको निर्देशन

Spread the love

काठमाडौँ, साउन १२ (ई–रैवार)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले सम्भावित चुनौतीलाई सामना गर्न एक हजार अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिइएको बताएका हुन् ।

महाशाखा प्रमुख उपाध्यायद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको नदेखिएको जनाएको छ ।

‘विगतका दिनहरुमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन,’ विज्ञप्तिमा लेखिएको छ,‘ अतः भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न त्यहाँ कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।’

साथै, मौज्दात सिलिन्डरहरु पनि खालि नराख्नुहुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्याङ्क तथा अक्सिजन कन्सेन्टेटर चालू र चुस्त अवस्थामा राख्न पनि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।