श्रीनगर : दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका वेला शनिबार बिहानै भारतीय धार्मिकस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
भारत प्रशासित कस्मिरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २:१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौँ मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजाअर्चना गर्दछन् ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिएका छन् । मृतकका आफन्तलाई भारतीय दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने भएको छ । घटनाप्रति विभिन्न दलका नेता, सरकारी अधिकारी तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन् । रासस/एएफपी


