एमाले दोस्रो तहका नेताहरु पार्टी एकताको प्रयासका लागि फेरि जुटे छलफलमा

Spread the love

काठमाडौँ,साउन २ (ई–रैवार)

नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयासका लागि फेरी छलफलमा जुटेका छन् । पार्टीको दोस्रो पुस्ताक नेताहरु सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा आन्तरिक छलफलमा जुटेका हुन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ ।स्रोतका अनुसार छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेका छन् ।​

कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै कसरी पार्टी एकता गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । एमालेको हिजो बसेको बैठकले समस्या समाधानका लागि गठित कार्यदल भङ्ग भए पनि छलफल गर्दै जाने बताएको थियो ।

विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहेका थिए ।

स्रोतका अनुसार एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, शंकर पोखरेल र भीम आचार्य पनि आजको छलफलमा सहभागी छन् । हिजो बसेको संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल भङ्ग गर्दै छलफललाई भने निरन्तरता दिने निर्णय गरेको थियो ।

नेपाल समूहकै कारण आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको निष्कर्ष निकाल्दै ओली थप रुष्ट बनेपछि दोस्रो पुस्ताका नेताहरु कार्यदलको प्रस्ताव कसी कार्यान्वयन भनेर चिन्तित बनेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको टकरावका कारण सहमति कार्यान्वयनमा समस्या खडा भएको छ । ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नरहेको बताएपछि पार्टी एकता जटिल बनेको छ ।

यस्तै शुक्रबार एमाले स्थायी कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ भने माधव पक्ष संसद जोगाउन भएपनि विश्वासको मत दिने अडानमा छ । एमाले प्रतिपक्षी कित्तामा पुगे पनि नेपाल पक्षले सत्तारुढ गठबन्धनसँगको सहकार्य जारी राखेको छ । यसले एमाले एकताको प्रयासमा थप जटिलता खडा गरेको नेताहरुको भनाइ छ ।