एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष ठाकुरबीच बालकोटमा भेटवार्ता

Spread the love

काठमाडौँ,साउन २ (ई–रैवार)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भइरहेको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षिय भेटवार्ता भइरहेको हो ।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीसँग ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता भैरहेको हो । छलफलमा जसपा बाट अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायत सहभागी छन्।

मुलुकको राजनीति ओली र ओली इत्तर पक्षमा विभाजित हुँदा ठाकुर पक्षले ओलीलाई साथ दिएको थियो । सोही क्रममा जेठ २१ गते जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिमण्डल असंवैधानिक ठहर गरेपछि जसपाबाट मन्त्री बनेकाहरु महिना दिन पनि नपुग्दै पदच्युत भएको थियो। सर्वोच्चका फैसलाले ओलीसँगको सत्ता सहकार्यमा ब्रेक लगाइदिएपछि ठाकुर पक्ष रनभूल्लमा छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विपक्षी बनेको ओली खेमासँग ठाकुुर पक्षले छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी र संसदीय दलमा बहुमत जुटाएर जसपाको आधिकारिकता लिने देखिन्छ ।

पछिल्लो समय ठाकुर पक्षका ६ जना सांसद पनि यादव पक्षसँग निकट हुन थालेको पाइन्छ । पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्ष संसदीय दलमा पनि अल्पमतमा पर्ने संकेत देखिएको छ । शुक्रबार ठाकुर पक्षले बोलाएको संसदीय दलको बैठक ७ जना सांसदले बहिस्कार गरेका थिए ।