एजेन्सी, कार्तिक ११ (ई-रैवार)
ओपनर डेभिड वार्नर र ऋद्धिमान शाहको उत्कृष्ट प्रर्दशनको सहयोगमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनायो । हैदराबादका विकेटकिपर समेत रहेका शाहले ४५ बलमा १२ चौका र २ छक्का सहित सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर जोनी बेयरस्टोलाई बेन्चमा राख्दै आज हैदराबादले शाहलाई खेलाउने निर्णय लिएको थियो । जुन निर्णयलाई शाहले सहि सावित गरे । कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का सहित ६६ रनको आक्रामक इनिङ खेले ।
हैदराबादलाई ओपनर वार्नर र शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी सिजनको आइपिएलमा पावर प्लेकै सर्वाधिक रन बनाउने क्रममा हैदराबादले कुनै विकेट नगुमाई ७७ रन जोडेका थिए । पहिलो विकेटका लागि वार्नर र शाहले ९.४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर रविचन्द्रन वाश्विनले अक्षर पटेलबाट वार्नरलाई क्याच गराउँदै तोडेका थिए ।
१५ औं ओभरको तेस्रो बलमा एनरिच नोर्कियाको बलमा ठूलो सट खेल्ने धुनमा मिड अफमा कप्तान श्रेयस ऐरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि मनिष पान्डे र शाहले ६३ रनको साझेदारी गरेका थिए । मनिष ३१ बलमा ४ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । केन विलियम्सन १० बलमा १ चौका सहित ११ रनमा अविजित रहे ।
एनरिच नोर्कियाले ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरेका कागिसो रबाडाको प्रर्दशन भने सम्झन लायक रहेन । रबाडाले ४ ओभरमा ५४ रन खर्चिदै विकेट लिन सकेनन् । रबाडा २६ टि२० खेल पछि पहिलो पटक विकेट बिहिन बन्न पुगेका हुन् ।


