एमाले स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठानमा जारी, न्याय पाउने ठाउँबाट अन्याय भयो- ओली

Spread the love

काठमाडौं, साउन १ (ई–रैवार)

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । एमालेको स्थायी कमिटी बैठक शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा सुरू भएको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बैठक जारी रहेको जानकारी दिएका हुन । बैठक तीनवटा एजेण्डामा केन्द्रित रहने तामाङले बताए ।

तामाङका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं ।’

स्थायी कमिटी बैठक सुरू गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई न्याय पाउने ठाउँबाटै अन्याय भएको बताएका छन्। ‘हामीमाथि अन्याय भएको छ। तर हामी आवेश र उत्तेजनामा नआई जनतामा जानुपर्छ’, ओलीले भने, ‘यो जनादेशले बनेको सरकार होइन, परमादेशले बनेको सरकार हो। हामी जनादेशबाट सरकारबाट बाहिरिनु परेको होइन। परमादेशबाट हो। न्याय पाउने ठाउँबाट हामीमाथि अन्याय भयो।’

बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ। माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ । बैठकस्थलमै पुगेर पनि आग्रह गर्न सक्ने भन्दै एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक सार्नु भएन भने हामी जाँदैनौं ।’

बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए। सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।

एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।