डोटी, असार १ (ई-रैवार)
डोटीमा श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने एक अभियुक्तलाई प्रहरीले बीस दिनपछि पक्राउ गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा २० दिनदेखि फरार अभियुक्त सन्तोष भाटलाई पक्राउ गरेको हो ।
घरमा सुतिरहेको अबस्थामा श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने डोटीको आदर्श गाउँपालिका-४ रोडि गाउँ बस्ने ३० वर्षीय सन्तोष भाट कैलाली जिल्लाको त्रिनगर भन्सार नाकाबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्लले घटनापछि फरार रहेका भाटलाई जेष्ठ ३१ गते जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले कैलाली जिल्लाको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरिएको बताएका छन् । कार्यालयमा पुर्याउने बित्तिकै जिल्ला अदालतले ६ दिन हिरासतमा राख्ने म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
सन्तोष भाटले गत जेठको १२ गते पसलमा सुतिरहेको अवस्थामा मध्यराती २८ वर्षीय श्रीमती लक्ष्मी भाट र छोरी अन्जु भाटको शरीरमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाएर मार्ने प्रयास गरेका थिए । लक्ष्मी भाट गम्भीर घाइते भएकी थिइन् । उनी विरुद्ध तेजेन्द्र बहादुर ठगुन्ना नेपाल सरकार वादी भई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।
लक्ष्मी भाट र उनकी छोरी अन्जुको काठमाण्डौमा रहेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुको उपचार खर्च नेपाल सरकारले बेहोर्ने गत जेष्ठ १७ गते हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ।


