काठमाडौं, असार ३१ (ई–रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिएका हुन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे बुधवार साँझ बसेको बैठकमा सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै प्रधानमन्त्री देउवाले त्यस्तो निर्देशन दिएको सिसिएमसीले जनाएको छ।
‘कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारवाहीका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
देउवा सरकारले कोरोना नियन्त्रण र खोपको उपलब्धतालाई प्राथमिकता दिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
साथै कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण सुरु गर्ने निर्णय पनि गरेको थियो ।
सिसिएमसी बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।


