धनगढी, जेठ ३१ (ई-रैवार)
कैलालीमा असार १ गतेदेखि सात दिनसम्म सम्पुर्ण पसल बिहान ११ बजेसम्म खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले एक साताका लागि बिहान ११ बजेसम्म सम्पुर्ण पसल खुल्न दिने निर्णय गरेको हो।
करिब डेढ महिना लामो निषेधाज्ञाका कारण यहाँका व्यवसाय ठप्प रहेका थिए । आईतबारको बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले असार १ गतेदेखि सम्पुर्ण पसलहरु खोल्न दिने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
बैठकले असार ७ गतेसम्म ११ बजेसम्म सम्पूर्ण पसलहरु खोल्न दिने निर्णय गरेको बताउदै प्रमुख जिल्ला अधिकारी रिजालले बिहान ११ बजेपछि पसल खोलेमा कारबाही हुने बताए । यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरेको छ ।
डेढ महिना लामो लकडाउन पछि पसल खोल्ने निर्णयले यहाँका व्यवसायी निकै उत्साही भएका छन् । भने कति पयले भने फेरि कोरोना फैलिन सक्ने समेत बताएका छन् । डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना कैद वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
कोरोना नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञालाई पनि एक साता लम्बाउने प्रमुख जिल्ला अधिकारी रिजालले जनाएका छन् । जिल्लामा सवारी साधन चलाउनमा ७ गतेसम्म नै रोक लगाईएको छ । खाद्यान्न, दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधन, एम्बुलेन्स, प्रेसका साधनहरु भने चल्न दिने निर्णय गरिएको छ ।
यस्तै यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र कर कार्यालय खोल्ने सम्बन्धमा छलफल भएपनि सहभागीहरुले तत्काल ती कार्यालयहरु सञ्चालन गर्नु जोखिम पूर्ण भएको बताएपछि ती कार्यालयहरु खोल्ने निर्णय हुन नसेको प्रशासनले जनाएको छ । यद्दपि एक हप्ताको समीक्षापछि कोरोनाको अवस्था हेरेर कार्यालयहरु खोल्न दिने वा नदिने टुंगो लाग्ने प्रजिअ रिजालले बताए ।


