देउवाको ६ दशक राजनीतिक जीवन, पाँचौं पटक प्रधानमन्त्री

Spread the love

काठमाडौं, असार २९ (ई–रैवार) 

पाँचौं पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुरा जिल्लाको साविकको असिग्राम गाविस वडा नम्बर ५ मा भएको हो ।

गाउँ नजिकै रहेको असिग्राम प्राथमिक विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका देउवाले डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माविबाट निम्न माध्यमिक तहको अध्ययन पूरा गरे । उनले माध्यमिक शिक्षा डोटीमा रहेको सीताराम मावि उच्चकोटबाट लिएका हुन् । स्कूले जीवनबाट नै देउवा नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भइसकेका थिए ।

देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका हुन् । २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित देउवा नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापक सदस्य हुन् भने नेविसंघको पहिलो निर्वाचित अध्यक्ष पनि ।

उनी २०२८ असोज १ देखि २०३६ फागुन २९ गतेसम्म नेविसंघको अध्यक्ष भए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक देउवाले सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कूल अफ इकोनोमिक्समा रिसर्च फेलोसमेत गरेका हुन् ।

पहिलो पटक २०४८ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए देउवा । वि.सं. २०४८ देखि २०५१ सम्म गृहमन्त्रीको पद सम्हालेका देउवा २०५२ देखि २०६१ सालसम्म तीनपटक प्रधानमन्त्री निर्वाचित भएका थिए ।

उनी पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई पदबाट बर्खास्त गरेका थिए । देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।

देउवा चौथो पटक २०७४ जेठ २३ देखि २०७४ फागुन ३ सम्म प्रधानमन्त्री भएका थिए । देउवा नेतृत्वको सरकारले तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयनको बाटो खुलेको थियो ।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेश (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा कमैया मुक्ति घोषणा हुनुका साथै विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता विभिन्न आयोग गठन भएका हुन् ।

देउवा पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बने । २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन अघि कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी वरिष्ठ नेता भए । कांग्रेसको राजनीतिमा ६ दशकदेखि अनवरत सक्रिय देउवा २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनबाट सभापति निर्वाचित भए ।

देउवा २०४८ सालदेखि भएका सबै आमनिर्वाचनमा गृह जिल्ला डडेल्धुराबाट विजय हासिल गर्दै आएका छन् । उनी प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आमनिर्वाचनमा विजयी भएका थिए ।

त्यस्तै २०६४ मा सम्पन्न पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर–४ तथा २०७० सालमा भएको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली–६ बाट निर्वाचित देउवा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने डडेल्धुराबाट विजयी भएका हुन् ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष रहेका उनी २०१३ देखि अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले प्रजातन्त्र पुनर्वहालीका लागि पटक–पटक भएका आन्दोलनका क्रममा १० वर्ष १० महीना जेलजीवन विताएका छन् ।

देउवा पत्नी डा. आरजू राणा पनि राजनीतिमा सक्रिय छिन् । उनी पूर्व सांसद पनि हुन् । देउवाका एक छोरा जयवीरसिंह देउवा बेलायतमा अध्ययन सकेर अहिले नेपालमै छन् । अनलाइनखबरबाट