धनगढी, जेठ १४ (ई-रैवार)
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीसहित ३ निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो।
संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, निवर्तमान सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई पार्टीबाट निष्कासन गरिएको नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिएका छन् ।
पार्टिको स्थायी कमिटी बैठकले दिएको निर्देशन नमानेको विषयमा सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष थापाले बताए।
अध्यक्ष थापाले आज फेरि विस्तार भएको प्रदेश मन्त्रिपरिषदमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भैरहेको बताएका छन् ।
‘आज नयाँ मन्त्री भएकालाई २४ घण्टे स्पष्टीकरण सोधिन्छ,’ उनले भने। एमालेले समर्थन फिर्ता लिएकोबारे प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा दर्ता भैसकेको उनले बताए।


