काठमाडौँ, असार २० (ई–रैवार)
एसईईको आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने भएको हो।
परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउनभित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य लिएको जानकारी दिए।
उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ।यस वर्षको मनसुन सक्रिय भएसँगै विभिन्न जिल्लामा बाढीपहिरो गएको छ। बाढी पहिरोबाट बाटो अवरोध भएकाले नम्बर फाइल पुर्याउन समस्या भएको परीक्षा नियन्त्रक अधिकारीले बताए।
परीक्षा बोर्डका अनुसार ०७७ को एसईईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने छ। गत जेठ १३ देखि भौतिक रुपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर दोस्रो लहरको कोभिड-१९ संक्रमण बढ्दै गएपछि गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भयो।
कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। कोभिडकै कारणले २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।


