काठमाडौं, असार २६ (ई–रैवार)
नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले आज सहमति हुने भनेपनि अझै सहमतिमा पुग्न नसकेका हुन ।
शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने विषयमा छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
बैठकबाट बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि (आइतबार) सार्थक निष्कर्षमा पुगिने बताए । आज लगभग निष्कर्षमा पुगिसकेको उनको भनाइ छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिएका छन् ।
लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए ।
पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।


