आज चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

Spread the love

काठमाण्डौँ, असार २ (ई-रैवार) 

देशका चार वटा प्रदेशमा आज ‘भारी’ वर्षाको सम्भावना रहेको छ । आज कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा आज धेरै भारी वर्षा हुने सम्भावना रहेको हो ।

मनसुनी वायुकै प्रभावले आज ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

अहिले विहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा भारी र थोरै स्थानमा धेरै भारी वर्षा भइरहेको जनाएको विभागले उक्त प्रणालीका कारण अझै ४/५ दिन देशभर असर रहने बताएको छ ।

भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू-भागमा भारी वर्षा र थोरै स्थानमा ‘धेरै भारी’ वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।