काँग्रेसमा क्रियाशील सदस्यताको टुङ्गो असारभित्रै, महाधिवेशन तयारीमा जुट्न देउवाको निर्देशन

Spread the love

काठमाडौँ, असार १९ (ई–रैवार)

नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी काममा तीव्रता दिएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्य छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दबाब बढेको हो ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दबाब बढेको हो ।

देशैभरिका स्थानीय पालिकाको वडावडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो लगाउन समस्या परेको थियो ।

पुराना सदस्यहरुको क्रियाशील सदस्यको नवीकरणमा समस्या नभए पनि नयाँ सदस्य र विभिन्न पार्टीहरू एकीकरण भई समायोजनमा आएकाहरूमा विवाद देखिएको छ । क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउँपालिका, नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ ।

छानविन समितिका सदस्य एवं केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेले प्राप्त विवरणलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समयमा छानविन गरी विवरण सभापतिलाई बुझाउन सकिने बताए । प्राविधिक कामको चापलाई घटाउने काम गर्दै काम भइरहेको पनि उनले बताए । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरी टुङ्गो लगाउने समिति सदस्य घिमिरेले बताए ।

नेपाली काँग्रेसको क्रियाशील सदस्य करिब नौ लाख पुग्ने अनुमान गरिएको छ । नेपाली काँग्रेसको सङ्गठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानविन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरूको ठूलो हिस्सा काँग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताए।

प्राप्त विवरणमा ३० देखि ५० वर्षको उमेर समूहका सबैभन्दा बढी ४० प्रतिशत रहेको पाइएको समिति सदस्य घिमिरेले जानकारी दिए । काँग्रेसमा नेतृत्व विकास क्रमशः युवापुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरूको विवरणले देखाएको घिमिरेले बताए ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग शनिबार विहान  छलफल गरेका छन् ।

छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो ।  यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले  आफूपक्षीय छानविन समितिका सदस्यसहितको छलफल राखेका हुन् ।

छलफल छानविन समितिका सदस्यहरुले सम्बन्धित क्षेत्रको क्रियाशील सदस्यताका देखिएको समस्याबारे बिफ्रिङ गरेका थिए । करिब ५ सय वडामा क्रियाशील सदस्यता सम्बन्धी समस्या राखेको संयोजक लेखकले बताएका थिए । त्यसमा पनि करिब ३ सय वडाको समस्या समाधन गर्न गाह्रो रहेको लेखकको भनाइ थियो ।

त्यसमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यतालाई कायम राखेर भए पनि अगाडि बढ्दा राम्रो हुने लेखकले बताए । यस्तै छलफलमा नेताहरुले पनि आफ्नो क्षेत्रमा देखिएको समस्या सुनाएका थिए ।

देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको भन्दै क्रियाशील सदस्यता चाडो टुंग्याउन निर्देशन दिएका नेता साउदले  जानकारी दिए । उनका अनुसार देउवाले महाधिवेशनका आन्तरिक तयारीमा पनि जोड दिन र जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई भनेका थिए ।

काँग्रेसको महाधिवेशन आगामी भदौ २३ गतेभित्र अनिवार्य रूपमा गरिसक्नुपर्ने छ । यसैमा महाधिवेशन तयारीका कामहरू पनि भइरहेका छन् । नेपाली काँग्रेसमा क्रियाशील सदस्यहरूले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने छ । काँग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुनमा काठमाडौँमा भएको थियो ।