कांग्रेस कार्यकर्ता भेलामा झडप, आधा दर्जन कार्यकर्ता सामान्य घाइते

Spread the love

डडेल्धुरा, असोज १७ (ई-रैवार)

डडेल्धुरामा कांग्रेस कार्यकर्ता भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो।

झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन्। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले कालो झण्डा देखाउन खोज्दा झडप भएको हो।

डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले एक पक्षले आयोजना गरेको भेलामा अर्को पक्ष पनि प्रवेश गर्न खोज्दा समान्य विवाद भएको बताएका छन् । अहिले अर्को पक्ष कार्यक्रमस्थलबाट बाहिरिसकेकाले अवस्था समान्य रहेको उनले जानकारी दिए । झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ।

झडपका कारण केहीबेर सभा विथोलिएको थियो । भेलालाई सम्बोधन गर्न कांग्रेस नेता अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र गुुरुराज घिमिरे डडेल्धुरा पुगेका छन् ।

पार्टीका जिल्ला सभापति समेत रहेका प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्षले डडेल्धुरामा अवैधानिक रुपमा क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वडा र पालिका महाधिवेशन बहिष्कार गरेको छ ।

अवैधानिक रुपबाट राखिएका क्रियाशील सदस्यको नाम हटाउनुुपर्ने, स्थानीय तहबाट सिफारिस भएका नामहरु समावेश गर्नुपर्ने र वडा अधिवेशन पुनः गर्नुपर्ने माग गर्र्दै जिल्ला पार्टी कार्यालयमा नेता, कार्यकर्ता रिले अनसनमा समेत बसेका थिए । तर आइतबार भने अनसन स्थगित गरिएको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्ल र देउवाबीच बेलाबेलामा झडप हुने गरेको छ।