डडेल्धुरामा ३ दिनदेखी बेपत्ता स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका

Spread the love

डडेल्धुरा,  असार ५ (ई-रैवार)

डडेल्धुरामा एक युवतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार परशुराम नगरपालिकाको आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जिल्लाको परशुराम नगरपालिका–८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शव हट्वानी सामुदायिक वनमा आज फेला परेको बताएका हुन ।

जमरानी आधारभुत स्वास्थ्य केन्द्रले यहि असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा उनी बेपत्ता भएको जनाएको छ । उनको खोजीका लागि आफन्तले इलाका प्रहरी कार्यालय जोगबुडामा निवेदन दिएका थिए।

युवतीका आफन्तले  हत्या गरेको हुन सक्ने भन्दै घटनाबारे अनुसन्धान गरिदिन माग गरेका छन् । प्रहरी नायव उपरीक्षक नेपालले घटनाको बारेमा बिस्तृत बुझ्न अहिले इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट टोली पठाइएको बताएका छन्।

‘३ दिनअघिबाट सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको हो। घटनाबारे प्रहरीले अनुसन्धान गर्छ अनि मात्रै हत्या हो या होइन भन्न सकिन्छ’ प्रहरी नायव उपरीक्षक नेपालले भने। शव फेला परेको स्थानमा पुगेको प्रहरी टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेकाले घटनाबारे पूर्ण जानकारी नआएको नेपालले बताए।