कञ्चनपुर, असार ५ (ई-रैवार)
लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्न थालेको छ । पानीको बहावका बढदै गएका कारण नदि किनारका बस्तीहरुमा जोखिम बढदै गएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षिक अमरबहादुर थापाले पहाडी जिल्लामा भइरहेको वर्षाका कारण महाकालीमा पानीको सतह बढ्दै गइरहेको बताए ।
महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख क्युसेकको हारहारीमा रहेको पानीको सतह बढेको छ । दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटीय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसँगै आसपासका खोलानाला र महाकालीमा निर्माणाधिन ४ लेनको पक्की पुलका संरचनामा समेत क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता थापाले बिहानको तुलनामा दिउँसो महाकाली नदीमा बहाव बढ्दै गएको बताए । उनका अनुसार बिहान एक लाख ७५ हजार क्यूसेक पानी रहेको महाकालीमा शनिबार दिउँसो १ बजेतिर बढेर १ लाख ९५ हजार क्युसेक पुगेको छ भने बढ्ने क्रम अझै रहेको छ।
बाढि जोखिमयुक्त क्षेत्रका जनतालाइ सुरक्षित रहन स्थानिय प्रशासनबाट आग्रह गरिएको छ भने प्रहरी टोली तयारी अवस्थामा रहेको उनले बताए । नदीमा पानीको बहाव बढेसँगै निर्माणाधिन ४ लेनको महाकाली पुलको संरचना भत्काएको छ ।
नदीमा पानीको सतह वृद्धि हुँदै गएपछि निर्माणाधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।
प्रहरी नायब उपरीक्षक थापाले सम्भावित खतरालाई ध्यानमा राखेर मातहतका प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन दिदै सोहीअनुसारको पूर्वतयारी गरिएको जानकारी दिए । नदी क्षेत्रमा गस्तीका लागिसमेत छुट्टै प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


