एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसले दियो ८ नेतालाई जिम्मेवारी

एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसले दियो ८ नेतालाई जिम्मेवारी
Spread the love

काठमाडौँ, असोज १७ (ई-रैवार) 

नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावका लागि समन्वय र सहयोग गर्न ८ नेतालाई जिम्मेवारी दिएको छ। महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा असोज ७ मा बसेको बैठकको निर्णयअनुसार कांग्रेसले कुल आचार्य नेतृत्वको समूहलाई एनआरएनएमा जिताउन भन्दै समन्वयका लागि ८ नेतालाई जिम्मेवारी दिएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई पठाएको पत्र अनुसार यूरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियाना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई कांग्रेसको जनसम्पर्क समिति विभाग प्रमुख पनि हुन् ।

कांग्रेसले यसअघि नै एनआरएनएको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतान्त्रिक समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । सो समूहलाई जिताउन जिम्मेवारी तोकिएका कांग्रेस नेताहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३/२५ मा हुँदै छ । महाधिवेशन अगावै सन् २०२१/२०२३ कार्यकालका लागि निर्वाचन हुने छ ।

पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ । आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्यको टिमबाट डा. केशव पौडेल महासचिव पदमा उम्मेदवार रहने छन् ।