सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिने

Spread the love

धनगढी, असार ४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका कोरोना प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश निर्देशक समितिको बैठकले स्थानीय तहसँगको समन्वयमा कोरोनाको शिघ्र परिक्षण शिविर सञ्चालन गर्ने निर्णयअनुसार शिविर सञ्चालन गरिने भएको हो ।

कोभिड(१९ व्यबस्थापन अध्यादेश अन्तरगत प्रदेशमा गठित ‘सुदूरपश्चिम प्रदेश निर्देशक समिति’को बैठकले स्थानीय तहसँगको समन्वयमा शिघ्र परिक्षण शिविर सञ्चालन गर्ने निर्णयअनुसार शिविर सञ्चालन गरिने भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

प्रदेश स्वास्थ्य निर्देशक अवस्थीका अनुसार प्रदेशका पहाडी जिल्ला डोटी अछामलगायतका विभिन्न गाउगाउँमा संक्रमित बढी देखिएकोले परिक्षण बढाउन तथा रोकथाम नियन्त्रणका लागि शिविर संञ्चालन गरिन लागेको हो।

मुख्यमन्त्री अध्यक्ष रहेको उक्त समितिको बैठकले भारतीय सीमा नाकामा चेकजाँच तथा हेल्पडेक्स, होल्डिङ सेन्टर, स्थानीय तहका क्वारेन्टीन, आईसोलेसनलाई थप प्रभावकारी बनाउन स्थानीय तहको मागअनुसार बजेट विनियोजन गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकेको छ ।

यस्तै कोभिडसँगै बर्षादको मौसममा विभिन्नखाले सरुवा रोगको प्रकोप र प्राकृतिक प्रकोप, बाढी-पहिरो, डुवानलगायतका जोखिम नियन्त्रण तथा न्युनिकरणमा नेपाली सेना, प्रहरी, प्रशासन र स्थानीय जनतहसँग समन्वय गर्न आन्तरिक मामला तथा कानून मन्त्रालयलाई जिम्मेवारी तोकेको छ ।

तेस्रो लहरको कोभिड संक्रमणलाई मध्यनजर गरी प्रदेशभित्रका सबै अस्पतालमा कम्तिमा १० वेड कोभिड-१९ संक्रमितलाई छुट्टाएर राख्न लगाउने र सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र भेन्टिलेटर जडान गर्ने कार्य ढीलो नगरी यसै महिनाभित्रै सम्मपन्न गर्नसमेत निर्देशन गरेको समितिका सूचना अधिकारी विश्वदीप बेस्राले जानकारी दिए ।