जसपा यादव पक्षीय कार्यकारिणी समितिको बैठक बस्दै, पार्टीभित्र उत्पन्न विवादका विषयमा छलफल हुने

Spread the love

काठमाडौँ, असार ३ (ई-रैवार)

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टीभित्र उत्पन्न विवादका विषयमा छलफल गर्नका लागि अध्यक्ष उपेन्द्र यादवले बिहान साढे ११ बजे बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयका बारेमा पनि छलफल हुने छ । अध्यक्ष यादवका अनुसार बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने छ । जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षीय बैठक बस्न लागेको हो ।

ठाकुरसहित नेता महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बैठकमा बोलाएको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बताए । तर उनीहरु उपस्थित हुने सम्भावना भने न्यून रहेको छ । अर्का अध्यक्ष ठाकुरले हिजो नै निर्वाचन आयोगलाई बिहीबार पार्टीको कुनै बैठक नभएकोले कसैले कुनै निर्णय ल्याए मान्यता नदिन पत्र पठाइसकेका छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा अध्यक्ष यादवको पक्षमा बहुमत रहेको छ । तर पनि बहुमत सदस्यले गरेको निर्णयलाई निर्वाचन आयोगले अस्वीकृत गरेपछि जसपाको यादव पक्ष आक्रोशित बनेको छ ।

निर्वाचन आयोगले महन्थ ठाकुर पक्षीय नेतामाथि गरिएको कारबाहीलाई मान्यता नदिएपछि आगामी रणनीति बनाउन यादव पक्षीय बैठक बस्न लागेको बुझिएको छ । बैठकले जसपाबाट सरकारमा सहभागी नेता राजेन्द्र महतो लगायतलाई सोधिएको स्पष्टीकरणमाथि निर्णय लिने छ ।