काठमाण्डौँ, असार १ (ई-रैवार)
निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको जसपाका उपेन्द्र यादव पक्षले ठहर गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का यादव पक्षले निर्वाचन आयोगको निर्णयले आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको ठहर गरेको हो ।
जसपाका अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगले पुर्वाग्रहपूर्ण निर्णय गरेको ठहर गरेका हुन् ।
पार्टीको निर्णय अनुसार महन्थ ठाकुरलगायत केही सदस्यहरुलाई पार्टी अनुशासन सम्बन्धी कारबाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाएकोबारे आयोगको दर्ता किताबमा अध्यावधिक गर्न दिएको पत्रमा अनावश्यक निर्णय भएको भन्दै उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको आयोगको निर्णयमा सम्पूर्ण रुपले अवज्ञा गरिएको यादवको विज्ञप्तिमा उल्लेख छ । उनले आयोग आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको आरोप समेत लगाएका छन् ।
“निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हीत अनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गंभीर शंका उत्पन्न भएको छ । निर्वाचन आयोगले गरेका उपरोक्त काम कारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहनेसमेत जानकारी गराउछौं,” यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जनता समाजवादीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरी विवरण अध्यावधिक गर्न माग गरेका थिए ।
उता महन्थले पनि यादवलाई पार्टीबाट हटाएका थिए । तर, आयोगले आइतबार दुवै पक्षको निर्णय विधानसम्मत नभएको भन्दै अध्यावधिक गर्न अस्वीकार ग¥यो । आफ्ना मागमा आयोग निर्णयविहीन रहनुले आयोग जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रस्ट भएको आरोप समेत लगाएका छन् ।
आयोगले अपव्याख्या गरी पार्टी विधानविपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवम् अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजिएको देखिएको विज्ञप्तिमा उल्लेख छ।



