कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

Spread the love

सुर्खेत, असार १ (ई-रैवार) 

कर्णाली प्रदेश एमाले संसदीय दलले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेले सबै प्रदेशसभा सदस्यलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । संसदीय दलको बैठकमा सर्वोच्चले सांसदमा पुनर्वहाली गरेका चार जना सांसदमध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी भएका थिए । उनी आजको संसद बैठकमा पनि उपस्थित हुने र प्रतिपक्षीको कक्षमा नै बस्ने बताइएको छ ।

आजको बैठकमा सर्वोच्च अदालतले पद जेगाइदिएका सांसद प्रकाश ज्वाला पनि सहभागी भएका थिए । उनीसँगै सांसद पद जोगिएका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा भने बैठकमा सहभागी भएनन् । उनीहरु तीनजना मन्त्री छन् ।

‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका एमाले खनाल–नेपाल समूहका सांसदलाई बर्खास्त गरिएको थियो । सर्वोच्चको आदेशसँगै उनीहरु एमालेको सांसद रहेको जानकारी सभामुखले हिजोको बैठकमा गराएका थिए ।

मुख्यमन्त्री शाहीले अहिले कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।