डोटी, कार्तिक ३ (ई-रैवार)
डोटी जिल्लामा लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका दिएको अनुसार असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १३ जनाले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक/एक जनाको मृत्यु भएको छ ।

सायल गाउँपालिका–६ मा सोमबार राति घरमा सुतिरहेको अवस्थामा पहिरोमा परी १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएकोजानकारी दिएका छन् ।
जोरायल गाउँपालिका–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ । प्रहरी टोली घटनास्थलमा पुगिनसकेका कारण मृतकको सनाखत हुन सकेको छैन ।
बाढी पहिरोका कारण सायल गाउँपालिका–५ का रमेश लुहार, भीम लुहार, करी डुम्रेल, सोही गाउँपालिका–६ का दिलवहादुर कुन्जेडा, बासुदेवी कुन्जेडा र बिन्दा कुन्जेडा घाइते भएका छन् ।
घाइतेमध्ये रमेश बिकलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिएका छन् । यस्तै जोरायल गाउँपालिका–३ का पुस्कर बिक र केआई सिंह गाउँपालिका–४ यसोधा भट्ट पनि घाइते भएका छन् ।
त्येसैगरी बझाङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ।
खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको ज्यान गएको जानकारी दिएका छन् । उनकी श्रीमती बेपत्ता भएकी छिन्।
यस्तै थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको सनाखत हुन सकेको छैन। अन्य २१ जनाको खोजी भइरहेको छ।


