काठमाडौं, जेठ २९ (ई-रैवार)
नेपाली कांग्रेसले आफ्नो महाधिवेशन भदौ १६ देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेसले आगामी भदौ ६–१० का लागि निर्धारित गरेको महाधिवेशन भदौ १६–१९ मा गर्ने पदाधिकारी बैठकले निर्णय गरेको हो ।
शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् ।
यस्तै असार ५ गतेका लागि तय गरिएको वडा अधिवेशन पनि सारिएको छ भने पालिका, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनको मिति पनि सारिएको छ । साउन १ गतेदेखि वडा अधिवेशन गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।
गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भदौँ १ र २ गते हुनेछ ।
पदाधिकारीले शंसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको छ ।
काँग्रेसमा आधिकारीक निकाय केन्द्रीय समिति मात्र भएकाले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्ने प्रचलन छ । पदाधिकारी बैठकको निर्णयपछि केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।
असार ३ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । १४ औं महाधिवेशन सार्ने निर्णय अनुमोदनका लागि बैठक बोलाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


