काठमाडौं, कात्तिक २२ (ई-रैवार)
सत्तारुढ दलका शीर्ष नेताको बैठक डाकिएको छ । सोमबार अपरान्ह बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकका एजेण्डा भने सार्वजनिक भइसकेको छैन । अपरान्ह ५ बजेपछि गठबन्धन बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जनाएको छ।
लामो समयदेखि गठबन्धन बैठक बसेको थिएन। प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्केपछि पहिलोपटक गठबन्धन बैठक बस्न लागेको हो। गठबन्धन बैठकका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतको गतिरोधका विषयमा भने सत्तारुढ दलका नेताहरुले न्यायालयको विवाद न्यायालयभित्रैबाट समाधान हुनुपर्ने बताउँदै आएका छन् । यही कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सुरु भएको आन्दोलनले १४ दिन पार गरिसकेको छ ।


