पोखरा, जेठ २९ (ई-रैवार)
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ । त्यस्तै पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गरेका छन् ।
यसअघि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त गरेका सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेका थिए । प्रदेशसभामा सबैभन्दा धेरै सदस्य रहेको संसदीय दलका नेताका हैसियतमा गुरुङ गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बिहीबार प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
त्यसपछि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन् । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा तिनै २७ सांसदले मात्र पक्षमा मतदान गरे ।
अर्कोतिर विपक्षमा ३० मत खसेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गर्दै बिहीबार तटस्थ रहे । उनलाई पार्टीको ह्वीप उल्लंघन गरेकोमा कारवाही भइसकेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुलाई भित्र प्रवेश नदिइएपछि गेटमै धर्नामा छन् ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् ।
“यो राजनीतिक बेइमानी, अधिनायकवादी शैली हो,” मुख्यमन्त्रीका दाबेदार कृष्णचन्द्र नेपालीले भने । विपक्षी गठबन्धनका बहुमत सदस्य अहिले प्रदेश प्रमुखको कार्यालयको गेटमा धर्नामा छन् ।
कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले प्रतिगामी कदमविरुद्ध निषेधाज्ञा तोडेर राजनीतिक आन्दोलन गर्ने र अदालत जानुपर्ने हुनसक्ने बताए ।
राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन् ।
जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गरेको छ । जनमोर्चाका दुवै सांसद पियारी थापा र खिमविक्रम शाही पनि त्यहीं गेटमै धर्नामा छन् ।सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनमोर्चाकी सचेतक थापाले भनिन्, ‘हाम्रो समर्थन विपक्षी गठबन्धनलाई छ । त्यही अनुसार हिजो सशरीर उपस्थित भएर हामी दुई जनाले हस्ताक्षर पनि गरिसकेका छौं ।’


