गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने, मनाङे विपक्षी गठबन्धनतिर

Spread the love

पोखरा, जेठ २७ (ई-रैवार)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार मध्याह्न १२ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाले पदमुक्त गरेर फेरि सर्वोच्चबाट थमौति पाएका कृष्ण थापाले तटस्थ बस्ने प्रतिक्रिया दिएका छन् ।

यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २७ जना सांसदको समर्थन हुने देखिएको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङले विपक्षीलाई साथ दिए संविधानको धारा १६८ (५) अनुसार कांग्रेस संंसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्ने पक्का हुने देखिएको छ ।

यसअघि मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङेले बुधबार विपक्षी गठबन्धनलाई साथ दिने प्रष्ट संकेत गरेसँगै मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत पक्का हुने छ ।