आइपिएल : पन्जाबद्वारा राजस्थान रोयल्सलाई १ सय ८६ रनको बलियो लक्ष्य

आइपिएल : पन्जाबद्वारा राजस्थान रोयल्सलाई १ सय ८६ रनको बलियो लक्ष्य
Spread the love

एजेन्सी, कार्तिक १४ (ई-रैवार) 

इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । पन्जाबलाई बलियो योगफलमा पुर्याउन क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्का सहित ९९ रनको योगदान दिए ।

अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए । तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए । गेल आइपिएलमा दोस्रो पटक एक रनले शतक बनाउन चुकेका हुन् । गतवर्ष रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ९९ रनमा अविजित रहेका थिए ।

पन्जाबले पहिलो ओभरको अन्तिम बलमा ओपनर मन्दीप सिंहलाई शून्यमा गुमाएको थियो । जुन समय पन्जाबले एक रन मात्र जोडेको थियो । मन्दीपलाई जोफ्रा आर्चरले बेन स्टोक्सबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटका लागि गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए ।

यी दुई खेलाडीको साझेदारी बने स्टोक्सले १५ औं ओभरको चौथो बलमा राहुललाई राहुल टेवाटियाबाट ४६ रनमा क्याच गराउँदै तोडेका थिए । राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

तल्लोक्रममा निकोलस पुरनले १० बलमा ३ छक्का सहित २२ रनमा क्याच आउट भए । बेन स्टोक्सको १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका पुरन राहुल टेवाटियाले बाउन्ड्री नजिककै उत्कृष्ट क्याच लिएका थिए । ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा अविजित रहे ।

राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।