सुदूरपश्चिम प्रदेशमा १७ सांसदलाई एमालेले फेरी सोध्यो २४ घण्टे स्पष्टीकरण

Spread the love

धनगढी, जेठ २७ (ई-रैवार)

नेकपा एमालेले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका १७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

एमालेका प्रदेश सचिव राजेन्द्र रावलले पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको जानकारी दिए । रावलले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै रावलले चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए । संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशन विपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो ? भनेर सोधिएको छ ।

एमाले अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो । तीन मन्त्रीले राजीनामा दिए लगतै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा सहभागी रहेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्लाई विश्वासको मत दिने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी (जसपा) र ओली पक्षका सात सांसदले भने विपक्षमा मतदान गरेका थिए । संसदीय दलले उनीहरुसित मंगलबार नै स्पष्टीकरण मागेको थियो ।

एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि संसदीय दलले उक्त निर्देशनलाई चुनौती दिएको थियो । एमाले प्रदेश कमिटीले खनाल–नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी पनि दिएको छ ।